डुमरलाल मेहता
विराटनगर, १५ चैत । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का ५४ वर्षीय धनराज मेहताका आठ झ्याङ बाँसघारी छन् । फरक–फरक स्थानमा गरेर आठ झ्याङ बाँसबाट धनराजले राम्रो कमाइ गर्छन् ।
बाँस पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिहरूमध्ये सबैभन्दा तीव्र गतिले बढ्न सक्ने एक काष्ठीय बिरुवा हो । यसका केही प्रजातिहरू २४ घण्टामा ९१० मिलिमिटर (३६ इन्च)सम्म बढ्ने गर्दछ । छिटै बढ्ने मात्र नभएर बाँस छिटो पनि फैलिन्छ । बाँस तीन वर्षमा एकपटक बिक्री गर्न लायक हुन्छ ।
धनराजले तीन वर्षअघि करिब सात–आठ सय बाँस बिक्री गरेका थिए । अब उनी आगामी वर्ष २०७८ को वैशाखमा पुनः बाँस बेच्ने योजनामा छन् । उनले फेरि पनि सोही सङ्ख्या बाँस बचाएर राखेका छन् ।

धनराजले विगत २५ वर्षयता बाँस बेच्दै आइरहेका छन् । दस वर्षअघि भने केही झ्याङ बाँस फडानी गरेर एक कठ्ठा जग्गा निकाले र त्यहाँ फर खेती गरिरहेका छन् । ‘बाँसलाई ठाउँ मात्र चाहिन्छ, लगानी गर्नुपर्दैन, मेहनत चाहिँदैन अनि खर्च केही हुँदैन’, उनी भन्छन्’, तीन वर्षअघि आठ सय बाँस बेचेको थिएँ । यसपालि पनि त्यति नै बाँस बेच्ने अपेक्षा छ । झन् यसपटक बाँसको भाउ राम्रो छ ।’
अघिल्लो पटक धनराजले १८० रुपैयाँ प्रतिघना बाँस बेचेका थिए । आठ सय बाँस बेच्दा उनले एक लाख ४४ हजार पाएका थिए । अब भने बाँसको भाउ दुई सय दससम्म पुगेको उनी बताउँछन् । उनले आफ्नो बाँस मोटो भएका कारण प्रतिघना दुई सय दसमा बेच्ने उनको दाबी छ ।
धनराजले केही बाँस भने तरकारी खेतीका लागि चलाए । करिब तीन सय घना बाँस उनकै खेतीमा प्रयोग भयो । अनि हालै घर बनाउँदा पनि उनले थुप्रै बाँस चलाए । खेतमा र घरका लागि बाँस प्रयोग भए पनि उत्तिकै सङ्ख्यामा बाँस बेच्न तयार भएको धनराजको भनाइ छ । धनराजले बाँस बेच्दा कर्चीसमेत बेच्छन् । आफूलाई बार–घेरा गर्नका लागि चाहिने कर्ची राखेर अरू बेच्ने गरेका छन् ।

सोही स्थानका सञ्जयकुमार मेहताले पनि बाँस बेच्न थालेको निकै भयो । उनले पनि केही बाँस आफ्नो कागती खेतीका लागि चलाउँछन् र बाँकी सबै बाँस व्यापारीलाई बेच्छन् ।
देवानगञ्जकै बाँस ब्यापारी देवनारायण मेहता र बब्लु मेहता देवानगञ्जका विभिन्न स्थानबाट बाँस किनेर विराटनगर ल्याउँछन् । देवनारायण र बब्लु बाबु–छोरा हुन् । पाँच वर्ष अघिदेखि बाँस व्यापार गर्दैआएका उनीहरु शनिबार बयलगाढीमा दुई सय घना बाँस लिएर विराटनगर आउँदै थिए ।
उनीहरुले प्रतिघना बाँस एक सय ६० रुपैयाँ हालेका थिए । अब उनीहरुले दुई सय ४५ सम्ममा होलसेल तथा खुद्रा मूल्यमा विराटनगरमा बेच्नछन् । देवनारायण भन्छन्, ‘थुप्रै भयो हामीले बाँस बेच्न थालेको । प्रतिघना ८० देखि सयसम्म फाइदा हुन्छ । खर्च पनि उस्तै छ । बयल गाडीमै हजार खर्च हुन्छ । लेबरको उस्तै पैसा लाग्छ ।’ एक गाडीबाट कम्तीमा १४ हजार फाइदा हुने उनको भनाइ छ ।




