विराटनगर, २२ चैत । काठमाडौँ नयाँ बानेश्वर घर भएका अनुप जंगमले विगत १७ वर्षयता रोजगार सहजीकरणका लागि काम गदैआइरहेका छन् । रोजगारदाता र बेरोजगारबीच सहजीकरण गर्दा सन्तुष्ट रहने जंगमले हाल रोजगार सहजीकरण मात्र नभए बृहत् योजना र उद्देश्यसहित रोलिङ नेक्सस डटकमको थालनी गरेका छन् ।
नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उनको योजना छ । एसियाकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको सञ्चालनमा आइसकेको छ । गत २५ फागुनमा काठमाडौँमा शुभारम्भ भएको सामाजिक व्यवसायिक सञ्जाल बुधबार प्रदेश नं १ को राजधानी तथा औद्योगिक सहर विराटनगरबाट पनि शुभारम्भ भयो ।

डिजिटल प्लाटफर्मको माध्यमबाट सबै व्यवसायिक कामलाई सहज बनाउने उद्देश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यवसायिक सामाजिक सञ्जाल हो । ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ नारा बोकेको यो सञ्जाललाई मुख्यतयः चार सिद्धान्तमा सञ्चालन गरिएको छ ।
रोजगारी मात्र नभएर उद्यमशीलता, सशक्तीकरण र संलग्नताको सिद्धान्तअनुरुप सञ्चालन हुने यो सञ्जालको उद्देश्य ब्यक्तिहरूको दक्षता अभिवृद्धि, रोजगारी सिर्जना तथा प्रवर्द्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणमा रहेर अवसर तथा सम्भावनाहरुको खोजी र गीग इकोनोमीको अवधारणामा रहेर उद्यमशीलता प्रवर्द्धन तथा ब्यवसायिक वृद्धि गर्नु हो ।

१८ वर्षदेखि ६५ वर्षका उमेर समूहमा पर्ने करिब दुई करोड नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एउटा पूर्ण ब्यवसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिन र कुनै न कुनै कार्यमा रोलिङ नेक्ससमार्फत अवसर, उत्पादनशिलता र रचनात्मक कार्यमा सहभागिता गराउँदै ब्यक्तिगत ग्राहक र ब्यावसायिक ग्राहकरुलाई सेवा दिन प्रतिवद्ध रहेको रोलिङ नेक्ससका अध्यक्षसमेत रहेका जंगम बताउँछन् ।
उनै जंगमसँग ग्रामीण खबरले गरेको कुराकानीः
रोलिङ नेक्ससमा कस्तो सञ्जाल हो ? र, के कस्तो योग्यता भएका व्यक्तिले सहभागिता जनाउन पाउलान् ?
रोलिङ नेक्सस नेपालको परिप्रेक्ष्यमा डिजिटल प्लेटफर्ममा देशकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल हो । विदेशको सामाजिक सञ्जालचाहिँ धेरै अगाडिदेखि नेपालीहरूले चलाउँदैआएका छन् । तर योचाहिँ व्यवसायिक सामाजिक सञ्जाल हो । जसमा पेशागत वा व्यवसायिक सामाजिक सञ्जाल थपेर नेपालमा पहिलो अवधारणा ल्याएका हौँ । सामाजिक सञ्जालमा चाहिँ मनोरञ्जन, इंगेजमेन्ट वा साथी सर्कललाई बनाउने काम हुन्छ । तर यसमा आफ्नो साथी पेशागत साथीलाई व्यवसायिकताका लागि जुट्ने ठाउँ हो । एउटा क्षेत्रको छुट्टै समूह बनाएर व्यवसायिकताको लागि भेला हुने एउटा साइट हो ।
यो बेरोजगार र रोजगारदाताबीच सहजीकरण गर्ने ठाउँ हो ?
हो । अझ, यसमा ब्यक्ति–ब्यक्तिले पनि जुटेर एक अर्कालाई रोजगारको अवसर सिर्जना गर्न पनि सक्छन् । पुरानो मोडलमा रोजगारदाताले रोजगार दिने प्रचलन थियो । तर, व्यवसायिक सामाजिक सञ्जालमा चाहिँ ब्यक्तिले पनि अर्को ब्यक्तिलाई रोजगार सिर्जना गरिदिन सक्छ ।
जस्तो मेरो घरमा प्लम्बिङ वा इलेक्ट्रिक काम छ वा केही दिनलाई ड्राइभरको आवश्यकता छ भने म व्यक्ति भएर पनि त्यहाँ आफ्नो आवश्यताबारे जानकारी राखेँ भने अर्को त्योसँग सम्बन्धित ब्यक्तिले रोजगार पाउन सक्छन् । यहाँ महिनाको वा वर्षको काम मात्र नभए केही घण्टा, केही दिनको काम हुन सक्छन
रोलिङ नेक्ससले ब्यक्ति–व्यक्ति, व्यक्ति–ब्यावसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सिर्जना गर्न विकसित गरिएको हो । त्यसैले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुको ब्यावसायिक दैनिकी सहज बनाउन रोलिङ नेक्सस उपयोगी छ ।
यसको प्रयोगकर्ता हुनका लागि के के चाहिन्छ ? वा शैक्षिक योग्यता, सीपलगायतका कुराहरु कत्तिको आवश्यक छ ?
मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अहिलेको अवस्थामा नयां सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले रोलिङ नेक्ससको सुरुवात गरिएको हो । यस्तोमा सिप नभएका वा सीप भएर पनि मौका नपाएका लाखौं मानिसहरुलाई रोलिङ नेक्ससको सञ्जाल उपयोगी हुन्छन् ।
सबैको लागि बनाएको व्यवसायिक सामाजिक सञ्जाल भएका कारण १८ वर्षदेखि ६५ वर्षका नेपालीहरुले केही न केही रोजगारीको अवसर पाउनुहुनेछ । चाहे त्यो सेवानिवृत्त कर्मचारी, महिला, अपाङ्ग वा होस् तीन करोड नेपालीमध्ये दुई करोड नेपालीले रोजगारीको अवसर पाउनुहुनेछ । सीप र शैक्षिक योग्यता भन्ने हुँदैन । अझ यहाँ सीप सिक्ने वा अभिवृद्धि क्षमता बढाउने काम हुन्छ ।
यसको थालनी कसरी भयो ? कहाँबाट प्रेरणा पाउनुभयो ?
हामी १७ वर्षअगाडिदेखि रोजगारीकै क्षेत्रमा रहेर काम गरिरहेका छौँ । पहिले रोजगारदाता र रोजगारी खोज्नहरुबीचमा पुलको रुपमा रहेर काम गरेका थियौँ । पहिले एउटा जब पोर्टलमा काम गरेका थियौँ । तर त्यहाँबाट खासै सन्तुष्टि मिलेन । हामीले एउटा मध्यस्तकर्ता र पुलको रुपमा रहेर काम गरेका थियौँ । रोजगार सिर्जना, संलग्नता, सशक्तिकरण र उद्यमशीलताको प्रवर्द्धनमा के गरेका छौँ भन्ने प्रश्न मैले जब पोर्टलबाट पाइनँ । यसैले यसको थालनी गरेका हौँ । यसबाट हामीले माथिका चारैथोक गर्न सक्छौँ ।
सन् २०१८ बाट नै हामीले यसको थालनी गरेका थियौँ । लामो समयको अध्ययन र लगनशीलतापछि सम्भव भएको हो । २०२१ मा आएर यसलाई मूर्त रुप दिन सक्यौँ । यसै क्षेत्रमा लामो समयदेखि लागेको भएर यसोचाहिँ गरौँ न भनेर लागेका हौँ । यसैको प्रेरणा भन्ने छैन ।
कति जना हुनुहुन्छ यो टिममा ? प्रभावकारी काम गर्न कसरी लागिपरिरहनु भएको छ ?
हामी अहिले ७० जना छौँ । प्रारम्भिक चरणमा प्राविधिक टोलीलगायत सबै गरेर ७० जना छौँ । डेभलपर, म्यानेजमेन्ट, अपरेसन, सेल्स गरेर त्यति छौँ । अब यहाँ सहभागी हुनेको सङ्ख्या बढ्दै गएको खण्डमा अझ कर्मचारी थप्नुपर्ने अवस्था आउँछ । त्यसरी बढेमा कमसेकम सय कर्मचारी थप्नुपर्छ । काम सुरुदेखि नै प्रभावकारी छ । टेक्निकल रुपमा बलियो हुनका लागि तीन वर्ष खटेका छौँ । यो धेरै ठूलो प्लाटफर्म हो यसैले पनि यसलाई प्रभावकारी बनाउन खटिरहेका छौँ ।
अहिले काठमाडौँ र प्रदेश १ का लागि लञ्चिङ भइसकेको अवस्था छ । अब प्रदेश दुईलगायत सबै प्रदेशमा हामीले पुग्छौँ र शाखा कार्यालय स्थापना तथा प्रतिनिधि राख्ने काम गरिसकेका र्छौँ । र, सबै प्रदेशका मान्छेले यसको सूचना पाउन् र धेरैभन्दा धेरैले उपयोग गर्न पाउन् भनेर हामीले निरन्तरता दिँनेछौँ । यसले गर्दा पनि काम अझ प्रभावकारी हुनेमा ढुक्क छौँ ।
पछिल्लो समय रोजगारदाता र रोजगारीबीच पुलको काम गर्दा ठगी भएका घटना सुनिरहेका बेला यसबाट तपाईँहरू कतिको टाढा हुनुहुन्छ ?
यसबाट हामी टाढा छौँ । हामीले सामाजिक उत्तरदायित्वअनुसार नै काम गरेका हुन्छौँ । अझ यहाँका प्रयोगकर्तालाई वर्तमान र भविष्यमा कुनै पनि प्रकारको रकम नलिने हुनाले पनि ठगीको कुनै प्रसंग नै उठ्दैन । हामीले रोजगारदातासँग लिन्छौँ । तर सेवाग्राहीसँग पैसा लिनेछैनौँ ।
किनकि यहाँ श्रमिकदेखि लिएर हरेक प्रकारका मानिसहरु जोडिनुहुन्छ । यसैले पनि ठगीको कुरा आउँदैनौँ ।
तपाईंको मुख्य उद्देश्य के हो ? र श्रमिक वर्गलाई कसरी समेट्दै हुनुहुन्छ ?
हाम्रो उद्देश्य स्वदेशमै रोजगारी सिर्जना गरौँ भन्ने हो । यसैले हामीले रोजगारी र रोजगारदाताबीच पुलको मात्र काम होइन् । सीपमुलक तालिम र क्षमता अभिवृद्धि गर्ने कुरालाई पनि जोड दिएका छौँ । अझ वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई कसरी लगानी गर्ने वा के गर्ने भन्न कुरालाई लिएर परामर्श पनि गर्ने योजना बनाएका छौँ ।
विदेशबाट फर्किएका धेरैले लगानी घर, गाडीलगायत कुरामा लगानी गरिरहेको अवस्था छ । तर, हामी कुनै उद्यमशीलतामा रकम खर्चिनुपर्छ भन्ने मान्यताका साथ उहाँहरुलाई परामर्श दिन्छौँ ।
अब श्रमिक वर्गको कुरा गर्नुहुन्छ भने पढेनलेखेका श्रमिकलाई यो एप्स एकदमै उपयुक्त छ । नेक्कस भनेको ह्वाइट कलरको जब गर्ने ठाउँ हो । श्रमिकलाई एप भन्नेबित्तिकै एउटा स्मार्ट फोन त चाहियो नै किनकि सबै कुरा मोबाइलमै पाइन्छ । र, अलिकति पढाइ–लेखाइ नभएका श्रमिकलाई नेपालीमै कर्मशील स्वदेश र कर्मशील विदेश भन्ने एप छ । यी दुईचाहिँ श्रमिक लक्षित एप्स छ । यो चाहिँ सामान्य रुपमा चलाउन सहज होस् भनेर बनाइएको एप हो । यसबाट उहाँहरुले सुविधा लिनुपर्छ ।
वैदेशिक रोजगारमा जानेका लागि पनि केही छ ?
छ, कर्मशील विदेश भन्ने एप छ । यसबाट वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले सेवा लिन सक्नुहुन्छ । नेपालीहरु वैदेशिक रोजगारमा जानेक्रम उस्तै नै छ । अझ हाम्रो अर्थतन्त्र बलियो नहुन्जेल दस वा १५ वर्ष त यसलाई हामी अस्वीकार गर्नैसक्दैनौँ । हामीले चाहिँ विदेश जाँदा अलि व्यस्थित रुपमा जानुपर्छ भन्ने कुरामा जोड दिएका छौँ ।
जस्तो कि जब भ्याकेन्सीको विज्ञापन एउटै प्याटफर्ममा हुन्छ । र कोही श्रमिकले क्लिनरको रुपमा पनि कतै जानु छ भने उहाँले तीन–चार लाइनको फर्म भरेर बुझाएमा । उहाँहरुलाई कतारको यो म्यानपावरमा, यति तलबमा, यो कम्पनीमा जब छ भनेर सहजीकरण गर्न हामी सक्छौँ । अझ उहाँले एकपटक दर्ता गरेपछि निरन्तर नटिफिकेसन पाउनुहुन्छ ।
विदेश पठाउँदा तपाईँहरुले म्यानपावरसँगको समन्वयमा काम गर्नुहुन्छ कि आफैँले ?
हामी म्यानपावर कम्पनी होइनौँ हामी सञ्जाल हौँ । म्यानपावरले चाहिँ सरकारसँगको अनुमति लिएर, सबै प्रक्रिया पूरा गरेर उहाँहरुले विज्ञापन गरेका मागहरु, जब अर्डरहरु हामीले सेन्ट्रलाइज गर्ने काम गछौँ । अब काम खोजिरहेका मानिसले दस वटा पत्रिका वा कुनै पनि प्रकारको सञ्चामाध्यमको सहायता लिनुपर्थ्यो भने हामीले एउटै प्लाटफर्मबाट र नोटिफिकेसनको माध्यमबाट जानकारी दिनेछौँ ।
अनि आठ सय ५० वटा म्यानपावर छन् भने एउटा सुरक्षित तबरले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले कुन चाहिँ छनोट गर्ने । अनि एउटा श्रमिकले विदेश जानुपर्दा बीचमा बिचौलियासँग ठोक्किनुपर्थ्यो भने हामी त्यो अवस्थालाई हटाउने अभियानमा छौँ । र बिचौलियाबाट हुने ठगी न्यूनीकरण गर्न हामी लागिपरेका छौँ । त्यति गरेपछि हामीले ओरेन्टेसनसँग पनि समन्वय गरेर कसरी नठगीइकन सुरक्षित वैदेशिक रोजगारमा जाने भन्ने परामर्श पनि दिन्छौँ ।
अनि सबै सुरक्षित भइ विदेश गइसकेपछि त्यहाँ पनि उहाँहरुले पाएको गुनासो व्यवस्थापन गर्ने काम गर्छौँ । हामी गुनासो व्यवस्थापन गर्ने सरकारी निकाय होइनौँ तर सम्बन्धित निकायमा यी गुनासाहरु पुर्याउने काम गर्छौँ ।
कति प्रयोगकर्ता जोडिइसके ?
गत २५ फागुनमा काठमाडौँमा एप्स सार्वजनिक गरेका थियौँ । हालै प्रदेश १ मा पनि गर्यौँ । साइट भने छ महिनाअगाडि नै सार्वजनिक भइसकेको थियो । यति छोटो समयमा नै साढे दुई लाख जति जोडिनु भएको छ । अझै जोडिनेक्रम जारी छ । तीन वडा एप्स छन् । जसमध्ये एउटा सेन्ट्रलाइज छ, जुन अलि कठिन छ । तर श्रमिक वर्गका लागि कर्मशील स्वदेश कर्मशील विदेश उपयुक्त हुनसक्छ ।




