२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नारायणगढ, ३ असार । शक्ति वा पोषणको स्रोतका लागि कुखुरालाई दाना खुवाइन्छ तर त्यही दाना कतै विष भइरहेको त छैन ? विभिन्न सरुवा रोग लागेर धमाधम कुखुरा मर्न थालेपछि अहिले व्यवसायी तथा विज्ञहरूसमेतले दानाको गुणस्तरमा प्रश्न गर्न थालेका छन् ।

पश्चिम चितवन शिवनगरको अमृत पोल्ट्री फार्ममा गत वैशाख अन्तिमदेखि जेठ पहिलो सातासम्म दुई हजार दुई सयभन्दा बढी कुखुरा मरे । फार्मका सञ्चालक रामलाल भुसालले कुखुरा मर्नुमा विभिन्न प्रकारका सरुवा रोगसँगै गुणस्तरीय दाना नहुनु पनि कारण हुनसक्ने आशङ्का गरे । “दानामा एकै किसिमको गुणस्तर छैन । हामीले प्रयोग गरिने दानाको पनि गुणस्तर अध्ययन हुनुपर्छ,” उनले भने ।

उनको आशङ्कालाई विज्ञको तर्कले पुष्टि गरेको छ । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. सुबिर सिंह दानाको कच्चा पदार्थको स्रोतमै हुने ढुसीले दानामा विष उत्पादन गरेको बताउँछन् । त्यस्तो दाना खाँदा कुखुरा मरेका हुनसक्ने उनको तर्क छ । “दानाको कच्चा पदार्थमा हुने ढुसीका कारण विभिन्न किसिमको ‘माइकोटाक्सिन’
(ढुसीजन्य विष) उत्पन्न भई कुखुरामा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्नाले अनेकौँ सरुवा रोग लाग्ने जोखिम बढेको छ,” कुखुरामा देखिएको बढ्दो मृत्युदर अध्ययन तथा अनुसन्धानका लागि गठित विज्ञ प्राविधिक समूहका संयोजकसमेत रहेका उपाध्यक्ष डा. सिंहले भने ।

“कुखुराको दाना खानयोग्य हुन ‘माइकोटक्सिन’ परीक्षणमा ‘अफ्लाटक्सिन’को मात्रा २० पीपीबीभन्दा कम हुनुपर्छ तर अहिले बजारमा आएका दानामा प्रयोग भएका कच्चा पदार्थ मकै वा ढुटोमा यसको मात्रा ७० देखि १२० पीपीबीसम्म पाइएको छ” उनले भने । ढुसीमा अफ्लाटक्सिनका साथै डन, अकराटक्सिन, टी २ लगायतका हानिकारक विषाक्त तत्त्व हुने र त्यसले कुखुराले सामान्य रूपमा दाना पानी मन लगाएर नखाने, छेर्नुका साथै मिर्गौलालगायतका अङ्ग सुन्निँदै गएर अस्वाभाविक र असाधारण तरिकाबाट मर्ने गरेको पनि उनले जनाए ।

छ महिनायता विभिन्न सरुवा रोगका कारण नेपालमा ६० लाख कुखुरा मरेको तथ्य सार्वजनिक भएको छ । त्यसबाट दुई अर्ब ४० करोड रुपियाँ बराबरको क्षति किसानले बेहोरेको बताइएको छ । कुखुरा विशेषज्ञ एवं कृषि तथा वन विश्वविद्यालय पशु तथा मत्स्य सङ्कायका डिन प्राडा होमबहादुर बस्नेत पनि कुखुरा निरन्तर मर्नुमा रोगसँगै प्रदूषित दाना पनि समस्या हुनसक्ने बताउँछन् ।

उनका अनुसार कार्बोहाइड्रेट अर्थात् शक्तिको स्रोतका रूपमा मकै र गहुँ, प्रोटिनका रूपमा भटमासको पिना, क्याल्सियमका रूपमा एक किसिमको सामुद्रिक जीवको खोल ‘सिप’, खनिज पदार्थ र भिटामिनहरूको संयोजन गरेर कुखुराका लागि दाना बनाइन्छ । प्राडा बस्नेतले किसानले अहिले प्रयोग गरिरहेका दाना यी तत्त्व मिलाइएर बनेकामा आफूलाई विश्वास नभएको बताए ।

उनले अहिले निषोधाज्ञाका कारण लामो समयसम्म कच्चा पदार्थ सञ्चित गर्दा र नयाँ मकैमा चिसो मात्रा बढी हुँदा ढुसीको समस्या हुने गरेको पनि बताए । तर नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी नेपाली दानामा ढुसीको मात्रा बढी भयो भन्नु नै गलत भएको दाबी गर्छन् । “कुनै पनि दानामा पानीको मात्रा ११ प्रतिशतसम्म रहन पाउने व्यवस्था छ तर पनि अहिले उत्पादन हुने दानामा त्योभन्दा पनि कम पानी प्रयोग भएको छ”, उनले थपे, “सरकारी निकायले पनि दानाको गुणस्तर नियमित परीक्षण गरिरहने हुँदा त्यसमा शङ्का गर्नु जरुरी छैन । ”

नेपालमा अहिले ११८ वटा उद्योगमा दैनिक पाँच हजार दुई सयदेखि पाँच हजार पाँच सय मेट्रिक टनसम्म दाना उत्पादन भइरहेको छ । यसरी दाना उत्पादन गर्ने उद्योग सबैभन्दा बढी काठमाडौँमा २६ र चितवनमा २४ वटा छन् ।

मूल्य पनि अधिक

अहिले चितवनमा कुखुराको दानाको मूल्य प्रतिकिलो सात रुपियाँ बढेर ५५ रुपियाँ पुगेको छ । यो अहिलेसम्मकै अधिक मूल्य भएको नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बताए । दानाको मूल्य बढ्दा अण्डा र मासु उत्पादनको लागत बढेको गुनासो पनि उनको छ । “मासु र अण्डा उत्पादनको लागत घटाउन पहिला दानाको मूल्य घटाउनुपर्छ,” उनेले भने ।

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भने दानाको मूल्य तत्काल घटाउन नसकिने बताउँछन् । “सरकारले भारतबाट आयात गरिने मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क लिँदा दानाको कच्चा पदार्थ खरिदमै खर्च बढेको छ”, दानाको मूल्य बढ्नुको कारणबारे जानकारी दिँदै उनले भने, “अहिले भारतबाट आयात हुने भटमास पिनाको मूल्य पनि बढेर प्रतिकेजी १०५ रुपियाँ पुगेको छ । ”

अमेरिकी भटमासको पिना प्रतिकिलो ९३ रुपियाँ किलोमा खरिद गर्न सकिए पनि यो आयात गर्न नै तीन-चार महिना लाग्ने हुँदा यो सम्भव नभएको पनि उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!