नेपाली कांग्रेसका शीर्ष नेताहरुले बुधबार पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने प्रयास गरेका छन् । तर बैठक सहमतिमा पुग्न सकेन । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंला बीच भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।
बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशन कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शीर्ष तहमा यसको टुंगो २ दिनभित्र लगाउने गरी छलफल भइरहेको बताए ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा तय गरिएको छ । तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।




